धार्मिक विश्वाससँगै स्थापना भएको गढिमाई मन्दिर

धार्मिक विश्वाससँगै स्थापना भएको गढिमाई मन्दिर
सोमवार, मंसिर १६, २०७६

जितलाल श्रेष्ठ

बारा । किम्बदन्ति अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएकोे त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ ।

तिनै थारुका सन्तानबाट १० औ पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहनुले १७ औं सताव्दी देखि चलेको यो किम्बन्तिले श्रद्धालु , भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको हो ।

जेल घरमा राती निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुःख पीडा समेत हरेर जानेछ । भनेर हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेको किम्वदन्ती छ ।

तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ । वरियारपुरमा मन्दिर निर्माण भए पश्चात ७ किमी पुर्वमा पर्ने अर्को शक्तिपिठ सिम्रौनगढ कंकाली मन्दिरमा बलि परम्परा रोकिएको र गढीमाईमा पशु बलिको प्रचलन शुरु गरिएको जनस्तुति पनि पाइन्छ । त्रिशूल गाढिएको स्थानबाट दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर देख्न सकिन्छ ।

मन्दिरबाट पूर्व–दक्षिणतिरको पीपलबोटसँगै ब्रम्ह स्थान छ । तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र रागा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउछन् ।

‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर वलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढिमाईको विशेष पुजा, आराधाना संगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउदै आई रहेका छन् ।

‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए ।

हिन्दू धर्म संस्कृतिमा पशु वलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न वलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।