सागको तेस्रो दिन आज १५ खेल हुँदै, ४ खेल पोखरामा र बाँकी खेल काठमाडौंमा

सागको तेस्रो दिन आज १५ खेल हुँदै, ४ खेल पोखरामा र बाँकी खेल काठमाडौंमा
मङ्लबार, मंसिर १७, २०७६

काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तेस्रो दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको तेस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुन लागेको हो ।

आज एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ ।

अन्य खेल काठमाडौंमा हुनेछ । आज पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् । महिला फुटबलतर्फ पनि दुई खेल हुनेछन ।

पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल विहान १० बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् । त्यस्तै महिला र पुरुष दुबैतर्फको भलिबलको फाइनल खेल पनि आजै हुनेछ ।

त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछन ।

साग क्रिकेट अन्तर्गत आज नेपालले टेष्ट राष्ट्र श्रीलंकाको २३ बर्ष मुनिको टिमसँग खेल्दैछ । खेल टियु क्रिकेट मैदानमा हुनेछ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।