साग अपडेट : २३ स्वर्णसहित नेपालको शीर्षस्थान कायमै

साग अपडेट : २३ स्वर्णसहित नेपालको शीर्षस्थान कायमै
मङ्लबार, मंसिर १७, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको अग्रता कायमै छ । नेपालले २३ स्वर्णसहित ४४ पदक प्राप्त गरेको छ । स्वर्ण पदकको अपेक्षा गरिएको महिला भलिबलमा भने नेपाल उपबिजेता बनेको छ ।

मंगलबार तेक्वान्दोको पुरुष ६८ केजी मुनि गेरुगीमा नेपालका वीरबहादुर महराले स्वर्ण जिते । तेक्वान्दोको महिला ४६ केजीको गेरुगीमा काजल श्रेष्ठले स्वर्ण जितिन् । करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितिन् ।

नविन रसाइलीले कराँतेको ६७ केजी उमेर समुहमा स्वर्ण पदक जिते । त्यस्तै नेपालका विजय सिन्जालीले पुरुषतर्फ र सुस्मिता तामाङले महिला तर्फ उसुको थाउलो बिधामा स्वर्ण जिते ।

पोखरामा भएको डुवाथलनमा पुरुष एकल तर्फ हिमाल टमाटाले स्वर्ण जिते । एथलेटिक्समा महिला तर्फ सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण जितिन ।

नेपालकै लक्ष्मण मल्लले स्प्रिन्ट विधाको डुवाथोलनमा रजत प्राप्त गरे । महिलातर्फ भूमि बुढामगरले रजत प्राप्त गरिन् । एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ टङ्क कार्कीले कास्यपदक जिते ।

मंगलबार पोखरा रंगशालामा भएको महिला फुटबल खेलमा नेपालले श्रीलंकालाई एक शुन्यको गोल अन्तरले पराजित गर्‍यो । खेलको ८८औं मिनेटमा नेपालकी सरु लिम्बूले निर्णायक गोल गरिन् ।

यता, काठमाडौको दशरथ रंगशालामा भएको पुरुष तर्फको खेलमा नेपालले भुटानलाई चार शुन्यको गोल अन्तरले हरायो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल गरे भने अभिषेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।

पुरुषतर्फको क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । श्रीलंकाको यू–२३ टोलीले पाएको १ सय ७३ रनको लक्ष्य १९ ओभर १ बलमै ४ विकेटको क्षतिमा पुरा गर्‍यो ।

महिला भलिबलको फाइनलमा नेपाल भारतसँग तीन दुईको सेटमा पराजित हुँदै रजत पदक जित्यो । नेपाल भारतसँग १७–२५, २५–२३, २५–२१, २५–२० र ६–१५ को सेटमा पराजित भएको हो।

नेपालले २३ स्वर्ण, ९ रजत र १२ कास्य गरी कुल ४४ पदक हासिल गर्दै प्रतियोगिताको शीर्ष स्थानमा छ । त्यस्तै भारत ११ स्वर्ण, ११ रजत र ५ कास्य गरी कुल २७ पदक हासिल गर्दै दोस्रो स्थानमा छ।

श्रीलंका ४ स्वर्ण, १२ रजत र २१ कास्य गरी कुल ३७ पदक जित्दै तेस्रो स्थानमा रहदा पाकिस्तान २ स्वर्ण ९ रजत र १२ कास्य जित्दै कुल २३ पदक सहित चौथा स्थानमा छ।

बंगलादेश २ स्वर्ण, ४ रजत र १८ कास्य हासिल गरी कुल २४ पदक सहित पाचौ स्थानमा रहदा माल्दिभ्स १ मात्र स्वर्ण पदक हासिल गर्दै छैठौ स्थानमा छ । भुटान ३ कास्यपदक हासिल गर्दै अन्तिम स्थानमा छ।