उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष

उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष
बुधबार, मंसिर १८, २०७६

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ ।

निर्वाचनका विषयमा औपचारिक समीक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ । सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुको समीक्षा कुर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए ।

दाङको एक वडामा विद्रोही उम्मेद्वार उठेर जितेकोमा त्यही बेला कारवाही भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालयको बैठक आगामी २३ गते बिहान ९ बजे बस्ने तय भएको छ ।

आफ्नो ठाउँको उपनिर्वाचनको समीक्षा त्यसअघि नै पठाइसक्न निर्देशन दिने निर्णय सचिवालयले गरेको छ । उपनिर्वाचनका विषयमा औपचारिक निर्णय त्यही बैठकमा हुने प्रवक्ता श्रेष्ठले बताए ।

आगामी बैठकमा पार्टीको कार्ययोजनाका साथै स्थायी र केन्द्रीय कमिटीको बैठकको समेत टुंगो लगाइने भएको छ ।

बैठकले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा आइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।