सागको स्वर्ण पदकमा भारतले नेपाललाई उछिन्यो

सागको स्वर्ण पदकमा भारतले नेपाललाई उछिन्यो
बुधबार, मंसिर १८, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले २९ स्वर्ण जितेको छ ।

मंसिर १५ गतेदेखि सुरु भएको साग प्रतियोगितामा नेपालले चौथो दिनसम्म आईपुग्दा २९ स्वर्ण, १५ रजत र २४ कास्य गरी कुल ६८ वटा पदक जितेको छ । यो संगैं नेपाल दक्षिण एसियाली मुलुकको दोस्रो स्थानमा झरेको छ ।

यसअघि निरन्तर रुपमा पहिलो स्थानमा रहदैं आएको नेपाललाई बुधबार भारतले पछि पारेको हो । भारत अहिले ३२ स्वर्ण, २२ रजत र १२ कास्य गरी कुल ६६ पदकसहित शिर्ष स्थानमा उक्लिएको छ । आजै भएको प्रतियोगितामा तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा पुरुष ८७ केजी माथिको गेरुगीमा सक्षमले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् । तेक्वान्दोमा संगीता बस्यालले स्वर्ण जितेकी छिन् । गेरुगीको महिला ६२ केजी तौल समूहमुनि संगीताले स्वर्ण जितेकी हुन् । साइक्लिङमा पुरुषतर्फ नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन ।

उसुको थाउलोमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् । लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९ दशमलव तीन दुई अंक ल्याएर स्वर्ण जितेका हुन् । त्यस्तै करातेको महिला ६८ केजी माथिको कुमुतेमा अनुपमा मगरले स्वर्ण जितेकी छिन् । करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते ।

एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालका दिपक अधिकारीले कास्य पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटरको दुरी दिपकले ३० मिनेट ५० दशमलव शुन्य छ सेकेण्डमा पुरा गरेका थिए । भारत र नेपालपछि श्रीलङ्का ७ स्वर्ण, २० रजत र ३५ कास्य गरि कुल ६२ पदक जित्दै तेस्रो स्थानमा रहदा पाकिस्तान ६ स्वर्ण १४ रजत र २० कास्य जित्दै कुल ४० पदकसहित चौथा स्थानमा छ ।

बंगलादेश २ स्वर्ण, ६ रजत र २५ कास्य हासिल गरि कुल ३३ पदक सहित पाचौ स्थानमा रहदा माल्दिभ्स १ स्वर्ण र २ कास्य पदक हासिल गर्दै छैठौ स्थानमा छ । भुटान ३ कास्यपदक हासिल गर्दै अन्तिम स्थानमा छ ।