सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड

सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
बिहिबार, मंसिर १९, २०७६

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले सीमा बिबादलाई कुटनीतिक पहलबाट समाधान गरिने बताएका छन् । कुटनीतिक पहलबाट समाधान नभए अन्तराष्ट्रियकरण हुने प्रचण्डको भनाई छ ।

सुदूरपश्चिम प्रदेशले आयोजना गरेको वित्तीय सम्मेलनलाई सम्बोधन गर्न धनगढी पुगेका दाहालले सीमा बिबाद समाधान गर्न राजनीतिक र कुटनीतिक पहल भइरहेको समेत बताए । सीमा बिबादबारे नेपाल सरकारको धारणासहित भारत सरकारलाई पत्र गइसकेको बताउँदै दाहालले अहिलेनै अन्तराष्ट्रियकरण गर्न नहुने बताए ।

अहिले नै अन्तर्राष्ट्रियकरण गरे सीमा बिबादको मुद्दा झन पेचिलो बन्ने हुँदा हाललाई राजनीतिक तथा कुटनीतिक पहलनै जरुरी रहेको दाहालको भनाई छ । नेपाल सरकारले भारतलाई पत्र पठाएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई बिशेष दुतका रुपमा भारत पठाउन लागेको दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारण आफुले चीन भ्रमण स्थगित गरेको स्पस्ट पारे । यो सरकार परिवर्तनका लागि भएको भन्दै नेकपा अध्यक्ष दाहालले जनताले दिएको समय भित्र जनताले थाहा पाउने नतिजा वर्तमान सरकारले दिन सक्ने बताए ।