साग महिला फुटबल– घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

साग महिला फुटबल– घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
सोमवार, मंसिर २३, २०७६

कास्की – १३ ‌औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलमा आज स्वर्णका लागि नेपाल र भारत प्रतिस्पर्धा गर्दै छन् ।

पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन् ।

भारत लिग विजेता र नेपाल उपविजेताको रुपमा उपाधि भिडन्त पक्का गरेका हुन् । लिग चरणको खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

फाइनल खेलमा नेपाल आफ्ना कमजोरी सुधार गर्दै स्वर्ण जित्ने दाउमा छ । नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ ।

सागमा स्वर्णको लक्ष्य सहित नेपाली महिला टिमले निरन्तर प्रशिक्षण गर्दै आएको थियो ।

पोखरा रंगशालामा घरेलु दर्शकका लागि साक्षी राखेर पहिलो ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा नेपाल हुनेछ ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले हराएको थियो ।

यस्तै लिग चरणको अन्तिम खेलमा भारतसंग १–० ले पराजित भएको थियो ।

त्यसैले पनि जारी साग खेलकूदअन्तर्गत महिला फुटबलको स्वर्ण पदकका लागि सोमबार(आज) आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ ।

खेल प्रतिस्पर्धापूर्ण रहने भएकाले स्वर्ण पदकको हकदार को बन्छ भन्नेमा खेलअघि नै अनुमान लगाउन कठिन हुन्छ ।

सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ ।

अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने निश्चित छ ।

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले टोलीको मनोबल उच्च बनाउने छ भने दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दै आफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ ।