काठमाडौँमा आज बिजोर नम्बरप्लेट भएका सवारी सञ्चालनमा रोक

काठमाडौँमा आज बिजोर नम्बरप्लेट भएका सवारी सञ्चालनमा रोक
सोमवार, मंसिर २३, २०७६

काठमाडौं । १३ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ ।

यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ । सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ ।