साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने

साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)को आज समापन हुँदैछ । प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुनेछन् ।

फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । आजै बक्सिङमा ८ स्वर्ण पदकको छिनोफानो हुनेछ।

खेल दिउँसो १ बजेदेखि सातदोबाटोमा सुरु हुनेछ। बास्केटबलको महिला तथा पुरुषतर्फका फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछन्।

पुरुष बास्केटबलमा भारत र श्रीलंका तथा महिलातर्फ नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछ। जुडोमा आज एक स्वर्ण पदकका लागि खेल हुनेछ।

दुई स्वर्ण पदकको छिनोफानो हुने स्क्वास टिम स्पर्धामा महिला र पुरुषको फाइनल खेल हुँदैछन्। दुवै टिम स्पर्धामा भारत र पाकिस्तान भिड्नेछन्।

मंसिर १५ गतेदेखि सुरु भएको साग खेलकुदको समापन कार्यक्रम बेलुकी ५ बजे सुरु हुनेछ। समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।