९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्

९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
बुधबार, मंसिर २५, २०७६

चितवन- स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन्। चितवन जिल्लाका सात स्थानीय तहका ९१७ जनाले २०७४ सालमै भएको चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा नबुझाएका हुन्।

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएका छन्।

यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका १२/१२ जनाले पनि खर्चको विवरण बुझाएका छैनन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन्।

उनीहरुलाई कार्यालयले पटक-पटक ताकेता गरिरहे पनि विवरण बुझाइनसकेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयाे। निर्वाचन ऐनले गरेको व्यवस्था अनुसार निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ।