नेपालीको आयु साढे ७० बर्ष !

नेपालीको आयु साढे ७० बर्ष !
बिहिबार, मंसिर २६, २०७६

सन्तोष विके थापा
काठमाडौं । मानव विकास सूचाकांकमा नेपालको अवस्था सुधारिएको छ । देशको औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरेर मंगलबार सार्वजनिक गरिएको मानव विकास सुचकांका अनुसार नेपाल १ सय ४७ औं स्थानमा उक्लन सफल भएको हो ।

२ स्थान सुधार गरेको नेपाल अझै पनि पुछारबाट ४२ औं स्थानमा रहँदा उत्साहित हुने अवस्था भने छैन ।

गत बर्ष १४९ औं स्थानमा रहेको नेपाल मानव विकासको सुचकांकमा दुई स्थान माथि उक्लीदै १४७ औं स्थानमा आउन सफल भएको छ । देशको औसत आयु, साक्षरता र प्रतिव्यक्ति आयलाई समावेश गरेर संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम– युएनडिपीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले क्रमिक सुधार ल्याएको हो ।

प्रतिवेदनमा एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भए पनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकांकको श्रेणीमा परेको उल्लेख छ । ४६ प्रतिशतले बढेको समग्र एसिया प्रसान्तमा मानव विकासमा असन्तुलित जोखिम रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा मानव विकास सुचकांक सुधारका लागि सरकारले १० बर्ष कार्ययोजना बनाएर काम गरे पनि उल्लेख्य सुधार भने हुन नसकेको विश्लेषक डा. अच्युत वाग्लेले बताए ।

शिक्षा, स्वास्थ्य एंव रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले वृद्धि भएको छ । प्रत्येक बर्ष १/२ स्थानले सुधार आए पनि त्यसको प्रभावले भने मानिसको जीवनमा उल्लेख्य अर्थ नराख्ने अर्थ मामिलाका जानकारहरु बताउँछन् ।

संसारका १ सय ८९ देशलाई समेटेर मानव विकास सुचकांक निकालिइरहँदा नेपालको अवस्था अझै पनि पुछारबाट ४२ औं स्थानमा रहँदा उत्साह हुने अवस्था नरहेको विज्ञहरु बताउँछन ।

शुन्य दशमलव ९४६ अंकसहित सबैभन्दा अग्रस्थानमा भने नर्वे रहँदा शुन्य दशमलव ३७७ अंकसहित अफ्रिकी मुलुक नाईजर अन्तिम १ सय ८९ औं स्थानमा रहेको छ । त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ ।

सबैभन्दा बढी विदेश रेमिट्यासका कारण देशको मानव विकास सुचकांकमा सुधार आएको अर्थविद डा. चन्द्रमणि अधिकारीको बुझाई छ ।

नेपालको मानव विकास सूचकांक सन १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात औसत ०.५२६ ले वृद्धि भएको छ । नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ । विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ ।

नेपालको औसत आयु अहिले साढे ७० वर्ष पुगेको छ । मानव विकासको सुचकांक निकाल्दा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई मुख्य आधार मानिने गरिएको छ ।

मानव विकासका लागि खर्च सक्ने क्षमता कम हुदै गएका बेला राज्यको प्रभावकारितामा सुधार नआएसम्म सुचकांकको तात्विक अर्थ भने देखिदैन । त्यसका लागि राज्यले भएका स्रोतहरु तथा उपलब्ध बजेटहरुलाई पूर्णरुपले खर्च गरी परिणाम निकाल्न भने अपरिहार्य छ ।