विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै

विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
बिहिबार, मंसिर २६, २०७६

बिनु खड्का

इलाम । भ्रमण वर्ष २०२० नजिकिँदै छ । योसँगै नेपालका शहरी क्षेत्रमात्र होइन ग्रामिण क्षेत्रमा पनि पर्यटकको चहलपहल बढ्न थालेको छ । त्यसमा पनि विकसित देशबाट नेपाल घुम्न आउने पर्यटक गाउँमा होमस्टेमा रमाउन थालेका छन् । अझ रमाइलो त के छ भने उनीहरु घुम्नका लागि मात्र होइन् घरको काम गर्न पनि होमस्टेमा बस्न रुचाउँछन् ।

सन्दकपुर गाउँपालिमा अवस्थित छिन्तापु जडिबुटी तथा कृषि नर्सरी फर्म र त्यही सञ्चालित होमस्टेमा बस्ने विदेशी पर्यटक घरकै काममा व्यस्त हुन थालेका छन् । यो होमस्टेमा बस्ने पर्यटकले नर्सरीमा कृषि उपज उत्पादनबारे ज्ञान लिन्छन् भने होमस्टेमा परिवारकै सदस्यका रुपमा बस्ने गरेका छन् ।

पछिल्लो समय इलामका होमस्टेमा आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । इलामका सन्दकपुर, माइपोखरी, श्रीअन्तुलगायतका पर्यटकीय गन्तव्यमा जाने पर्यटक होमस्टेमै रमाउने गरेका छन् । यी क्षेत्रमा रहेका होमस्टेहरुमा २० भन्दा बढी देशका नागरिक आउने गरेको होमस्टे सञ्चालक डिकादेवी पोखरेलले बताइन ।

केहिबर्ष अघिसम्म पर्यटकको रोजाईमा नपरेका होमस्टेमा विस्तारै चहलपहल बढ्न थालेको छ । घरायसी वातावरण, स्थानीय खानाको परिकार र आफ्नै बारीमा फलेका तरकारी र फलफूलको स्वाद लिनका लागि पनि विदेशी र आन्तरिक दुवै पर्यटकको रोजाई होमस्टे बन्दै गएको होमस्टे सञ्चालक टीका खतिवडा बताउँछन् ।

ग्रामिण भेगका होमस्टेमा हप्तादिनदेखि एक महिना विदेशी पर्यटक बस्ने गरेका छन् । होमस्टेमा पाहुनाका रुपमा बस्ने पर्यटकले स्थानीय कला, संस्कृति, भेषभुषा र खानपानमा रमाउन पाएकोमा खुसीयाली मनाउने गरेका छन् ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा होमस्टेमा बस्ने विदेशी पाहुनाको संख्या बढ्दै जानु सुखद कुरा हो । यसले नेपाल पर्यटकको रोजाईमा पर्दै गएको पनि झल्को दिएको छ । यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता हो ।