देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे

देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे,  खोला बग्न छोडे
शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- पुष नलाग्दै देशभर चिसो बढेको छ। गत बुधबार देखि मौसममा आएको परिवर्तनले काठमाडौैसिहत पहाडी भेगमा चिसो बढेको छ भने  हिमाली भेगमा हिँउ  वर्षा सुरु भएको छ।

मुस्ताङमा हिँउ मात्र परेको छैन ताल जमेका छन् भने खोला पनि जमेर बग्न छोडेका छन्। मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ।

चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासीले बताएका छन्। उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ।

खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ। पानी जमेर धारामा पानी झर्नै छाडेको छ।

सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ। तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल पनि बढेको छ। बिहीबार रातिदेखि हिउँ पर्न थाले पछि ताल खोला सबै समेका हुन्।

स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न छोडेर तातोबा बस्न सुरु गरेका छन्। गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ। जोमसोम–कोरला नाका सडकको काम समेत बन्द भएको छ।

जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गइसकेका छन्। गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन्। उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ। स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश जिल्ला बाहिर गएका छन्।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा सुरु गरेका छन्। उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन्।