वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा

वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा
शनिबार, मंसिर २८, २०७६

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले पार्टीको केन्द्रीय समिति नै बहिस्कार गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल शुरु गरेका छन् ।

बिहिबारको केन्द्रीय समिति बैठक बहिस्कार गरेका पौडेल पक्षका नेताहरुलाई मनाउन सभापति देउवा आज पौडेल निवास बोहराटार पुगेको हुन् । उपसभापति विमलेन्द्र नीधिलाई समेत लिएर पौडेल निवासमा पुगेका देउवाले बुधबार बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाका विषयमा छलफल गरेको जनाइएको छ ।

पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको वरिष्ठ नेता पौडेलले जानकारी दिएका छन् । यसअघि शुक्रबार बसेको पौडल पक्षका नेताहरुको आन्तरिक बैठकले आगामी महाविधेशनको कार्यतालिका समेत केन्द्रीय समितिको एजेण्डा बनाउनुपर्ने आफ्नो मागलाई नछाड्ने निर्णय गरेको थियो । संस्थापन पक्षसँग वार्ता गर्न पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता हृदयराम थानीलाई जिम्मा दिइएको कांग्रेसका नेताहरुले जनाएका छन् ।

बिहिबारदेखि शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको समेत कार्यतालिका एजेण्डा बनाउन माग गर्दै पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले माग गरेका थिए । तर सभापति देउवा महाधिवेशनको कार्यतालिका बैठकको एजेण्डा बनाउन सहमत नभएपछि बैठक बहिस्कारको अबस्था सिर्जना भएको थियो ।

सभापति देउवाले अहिले कायम रहेका २८ वटा विभागको संख्या बढाएर ४१ बनाउने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेपछि पार्टीभित्र तिव्र विवाद शुरु भएको छ । कांग्रेसको आगामी केन्द्रीय समिति बैठक आगामी बुधबारका लागि बोलाइएको छ ।