नेपाल–भारत सीमा विवादले ल्याएको तरंग

नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
शनिबार, मंसिर २८, २०७६

सन्तोष विके थापा

काठमाडौं–लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भारतले नेपाली भूमि मिचेर सार्वजनिक गरेको राजनीतिक नक्सा प्रति चौतर्फी विरोध भयो ।

समस्या समाधानका लागि सरकारले कुटनीतिक पहल गर्ने दाबी गरिरहँदा उपलब्धी मुलक प्रयास भएको देखिँदैन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारले विशेष दूत बनाएर भारत पठाउने विषय सार्वजनिक भएपनि सरकारकै प्रवक्ताले भने यो विषय आफूलाई थाहै नभएको भन्ने अभिव्यक्ति दिएपछि नेपाल–भारत सीमाविवाद हलका प्रयास के भइरहेका छन् भन्ने खोजी शुरु भएको छ ।

काश्मिरको भूमिसहित भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूमि मिचिएपछि उत्पन्न तनाव अझै समाधान भएको छैन । सरकारले कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएपनि औपचारिक प्रयास देखिएको छैन् । सरकारले समस्या समाधानका लागि पत्रचार गरेको दाबी गर्दा भारतीय अधिकारीले आधिकारिक पत्र नआएको बताएका छन् ।

त्यसो त पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष दूतका रुपमा भारत पठाउने र भारतीय प्रधानमन्त्रीसँग विशेष वार्ता गरी समस्या समाधान गर्ने सरकारको तयारीको चर्चा चलेपनि सरकारकै प्रवक्ता गोकुलप्रसाद बास्कोटाले यो कुरा हावादारी भएको टिप्पणी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेता नेपाललाई भेट्न समय नदिएपछि सरकारका प्रवक्ताले बोली फेरेका हुन् वा सरकारले अघि नबढाएको विषयमा नेता नेपालले नेतृत्व लिन खोजेका हुन् । यस विषयमा नेकपाकै नेताबीच फरक राय छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा नेता नेपालले नेतृत्व गर्न खोजे पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको टिप्पणी सत्तारुढ दलकै सांसद दिलु पन्तको छ ।

दुई तिहाई मतसहित नेकपाकै नेतृत्वमा सरकार सञ्चालन भइरहेपनि सरकारले गरेको काम प्रति सत्तारुढ दल कै सांसद र नेताहरु उपलब्धी मुलक नभएको ठान्ने गर्छन् ।

जे भएपनि यो आन्तरिक लडाईँको विषय होइन । नेपालको राष्ट्रियतासँग जोडिएको विषय हो । ओली नेतृत्वको वर्तमान सरकारले अनेक बहानाबाजी बनाएर टार्ने होइनकी प्रभावकारी कदम चाल्न आवश्यक छ । आम नेपालीले सीमा रक्षाका लागि दिएको दबाबलाई सरकारले सकारात्मक रुपमा लिएर दीर्घकालीन नतिजा नस्किने गरी सीमा विवाद हल गर्नुपर्छ । अनि जनताको राष्ट्रिय भावनालाई उचित सम्मान गर्न सक्नुपर्छ । बोलीमा मात्र होइन व्यवहारमा पनि नेपाललको परराष्ट्र सम्बन्ध मजबुद, व्यवस्थित बनाउन आवश्यक छ ।