पिपीएल क्रिकेट : चितवनको लगातार चौथो जीत

पिपीएल क्रिकेट : चितवनको लगातार चौथो जीत
आइतवार, पुस ६, २०७६

कास्की । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भएको हो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।

आठौँ क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आएका लोकेस बमले ३६ बलमा ६२ रनको अर्धशतक प्रहार गरेपनि टोलीले जीत निकाल्न भने सकेन । पुनित मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नुबाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले समान तीन/तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिएका थिए ।

चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुआती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन बनाए । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोडे ।