मीठो स्वरका धनी रामकृष्णको तीतो जीवन कहानी, श्रीमतीसँग सम्बन्ध बिच्छेद

मीठो स्वरका धनी रामकृष्णको तीतो जीवन कहानी, श्रीमतीसँग सम्बन्ध बिच्छेद
बुधबार, पुस ९, २०७६

काठमाडौं- रामकृष्ण ढकाल यो नाम सुन्ने बित्तिकै उनले गाएका धेरै कर्णप्रिय गीत मानसपटलमा आउँछ । हुन पनि नेपाली आधुनिक संगीतमा उनले एकताका एकछत्र राज गरे ।

यी नै मीठो स्वरका धनी रामकृष्णको जीवन कहानी चाँही निक्कै तीतो रहेछ । एक छोरीसहितको सुखी परिवार एउटै छानोमुनि बस्ने वातावरण नबन्दा उनको जीवन भोगाइको अनुभव भने निक्कै तीतो महशुस भएको हो ।

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो। सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।