ए डिभिजन लिग अन्तर्गत सोमबारबाट पाँचौं चरणका खेल हुँदै

ए डिभिजन लिग अन्तर्गत सोमबारबाट पाँचौं चरणका खेल हुँदै
आइतवार, पुस २०, २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल सोमबारबाट शुरु हुने भएका छन् । लिगको चौंथो चरणको खेल बिहिबार सकिएपछि खराब मौषमको कारण खेल दुई दिन पछि सारिएको हो ।

पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पाचौं चरणको पहिलो दिन दुई खेल हुनेछन् ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

लिगमा अपराजित रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । एनआरटी भने जावलाखेललाई पराजित गर्दै शीर्ष ६ भित्र स्थान बनाउने योजनामा हुनेछ ।

जावलाखेल ८ अंकसहित चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानको मनाङ मर्स्याङ्दीको १० अंक रहेको छ ।

आठौं स्थानको एनआरटीको ४ अंक रहेको छ । सोमबार हुने दोस्रो खेलमा अपराजित दुई टोली मछिन्द्र क्लब र साविक विजेता मनाङबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको चौंथो चरण सकिदा अपराजित मनाङ शीर्ष स्थानमा रहेको छ ।