नेपाल मेडिकल कलेजमा हंगामा (भिडियो)

भ्याकुमले बच्चा तान्दा पाठेघरसहित आन्द्रा निस्कियो

नेपाल मेडिकल कलेजमा हंगामा (भिडियो)
आइतवार, पुस २७, २०७६

पुस्कर खतिवडा
काठमाडौं । चिकित्सकको लापरबाहिका कारण अस्पतालमा बिरामिको मृत्यु हुने घटनाहरु दैनिकजसो सार्वजनिक हुने गरेका छन् । यस्तै घटना दोहोरिएको छ काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा ।

जहाँ प्रसुतीका लागि पुगेकी भोजपुरकी सुनमाया राईको चिकित्सकले लापरबाहीका कारण ज्यान गएको छ । पीडित परिवारले बिरामीको पाठेघर नै चुडाइदिएको आरोप लगाउँदै प्रर्दशन गरेका छन् ।

सुत्केरी हुन नेपाल मेडिकल कलेज पुगेकी सुनमाया राईको उपचारमा अस्पतालका चिकित्सक तथा नर्सले लापरबाहिपुर्ण भ्याकुम लगाई पाठेघर चुडाइदिएको भन्दै मृतकका आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए । यो क्रम आइतबार पनि जारी रह्यो, पीडित परिवारले अस्पतालमा दिनभर प्रदर्शन गरे ।

आर्थिक अवस्था कमजोर रहेकी भोजपुर षडानन्द नगरपालिका वडा नं ८ की सुनमाया राईले पुस २४ गते राति ११ बजे नेपाल मेडिकल कलेजमा नवजात शिशुलाई जन्म दिएकि थिइन् ।

सोही अस्पतालमा गर्भ परीक्षण गराउदै आएकी उनको प्रसुतीका क्रममा भने चिकित्सकले लापरबाही गरेको पीडितको आरोप छ । लापरबाहीपूर्ण तरिकाले भ्याकुम लगाई बच्चा तान्दा बिरामीको पाठेघरसहित आन्द्रा नै चुँडिएर ज्यान गएको मृतकी दिदी कला राईले आरोप लगाइन ।

पीडित परिवारले अस्पतालको लापरबाही भनिरहँदा अस्पताल प्रशासन भने मौन छ । घटनाको ३ दिन बित्दा पनि पीडितलाई न्याय दिन अस्पताल प्रशासन तयार छैन् । घटनाको सत्यतथ्य जानकारी गराउन र दोषीलाई कारबाहीको माग गर्दै आएका पीडित परिवारसँग अस्पतालले वार्ता सम्म गर्न चाहेको छैन ।

बच्चा जन्माएर ज्यान गुमाएकी सुनमायाका श्रीमान वैदेशिक रोजगारीका क्रममा छन् । उनी अहिलेसम्म नेपाल फर्कन पाएका छैन् । सुनमायाको शव अस्पताल भित्र रहँदा नवजात शिशु अस्पतालको अर्को शैयामा र ४ वर्षे सन्तान घरमा छन् । यो कारुणिक घटना कहिलेसम्म जारी रहला ? वास्तवमा घटना के हो ? दोषी कोहो ? पीडितको न्यायका लागि अस्पतालले के गर्छ भन्ने प्रश्न लिएर हामी पुग्दा अस्पताल प्रशासनले कुनै जवाफ दिनै चाहेन् ।

यतिसम्मकी यो घटनाबारे अस्पतालले अहिलेसम्म औपचारिक जानकारी पनि गराएको छैन् । उल्टै अस्पतालमा तोडफोड र प्रदर्शन भएको र काम गर्ने वातावरण नभएको भन्दै अस्पतालको कर्मचारी संगठनले ओपीडी सेवा बन्द गरेको छ । यो दुःखद घटना हो । यसको उचित निकास निकाल्नुपर्छ । नकी अस्पताल मौन बसेर र समस्यासँग भागेर समाधान निस्कँदैन ।

अस्पताल प्रशासन कानूनको अधिनमा हुनुपर्छ । बिरामीको उपचार गर्ने जिम्मा लिएको अस्पतालले यस्ता दुःखद घटना हुँदा घटनाको जिम्मेवारी लिएर औपचारिक जानकारी दिनसक्नुपर्छ । हैन भने पीडितले न्याय पाउने गरी माग सम्बोधन गर्नुपर्छ । यसका लागि अस्पतालकै जवाफदेहिता आवश्यक छ ।