बाँकेमा माघी पर्वको रौनक सुरु

बाँकेमा माघी पर्वको रौनक सुरु
सोमवार, पुस २८, २०७६

मधु पौडेल-बाँके

तराईका जिल्लाहरुमा माघी पर्वको रौनक सुरु भएको छ । थारु समुदायले विषेश पर्वका रुपमा मनाउने माघीले थारु बहुल क्षेत्रमा छुट्टै रौनकता भरेको हो ।

वर्षभरीका योजना बनाउने तथा दासताबाट मुक्तिको समयका रुपमा मनाई माघी थारु समुदायको मुख्य पर्व हो । थारुहरुको माघीमा अन्य समुदायले समेत साथ दिनेगरेका छन् ।

त्यसोत, थारु समुदायले मुख्य पर्वका रुपमा मनाइने माघीको सन्दर्भमा पश्चिम तराईका थारुबहुल जिल्लाहरुमा मेला, महोत्सव तथा ¥यालीहरु सुरु भएको छ । माघे संक्रान्तीको अवसरमा पहाडी समुदायमा आफ्ना आफन्तहरुलाई घरमा बोलाई खिचडी, तरुल, शखरखण्ड लगायतका परिकारहरु बनाई खुवाउने चलन रहँदै आएको छ ।

मधेसमा भने थारु समुदायले यो पर्वलाई निकै हर्षका साथ मिठा पकवानहरु ढिग्री, माछामासु, तिलको लड्डु,सहितका पकवान आपसमा बाडेर खाने चलन रहेको छ । नयाँ वर्षका रुपमा मनाउने माघी पर्वलाई नयाँ पिडीले परिमार्जन गर्र्दै आएको थारु अगुवा पूर्णबहादुर चौधरी बताउँछन् ।

माघे संक्रान्ति आउनुभन्दा केही दिन पहिलाबाटै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ । उनीहरुले माछा मार्न महिनौ देखि नै खोला या अन्य तालमा माछा संरक्षण गरेर राख्ने थारु समुदायिको परम्परा रहेको छ ।

यसैगरी माघी पर्वको दोस्रो दिन थारु समुदायले गाउँगाउँमा सुगुर काटेर मासु घरघरमा ल्याउने गर्दछन् । उनीहरु त्यही दिन आफ्ना आफन्त छोरी चेलीहरुलाई निम्तो गर्न छोरी चेलीको घरमासमेत पुग्ने गर्दछन ।

यस्तो परंपरालाई थारु भाषामा ‘पहुनी लिह जाइना’ भन्ने गरिन्छन । छोरी चेली आफन्तलाई घरमा ल्याई सकेपछि साँझपख घर परिवार आफन्तहरु सबै एकै ठाउँ बसेर दुखसुखका कुरा गर्दै घरमा बनेका परिकार खाने चलन छ ।

रातभर दुखसुखका गीतमा नाचगान गर्दै रमाउँनु थारु संकृतिको अर्को पक्ष हो । माघीमा थारु समुदायको मुख्य परिकारका रुपमा ढिक्री खाने गरिएको छ ।

करिव एक हप्तासम्म बनाउने माघी पर्वलाई थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गरेपनि यस पर्वको मान्यता भने प्रदेश सरकारले मात्र दिएको छ । प्रदेश नम्बर–५क सरकारले भने माघ १ र २ गते सार्वजनिक विदा घोषणा गरेको छ ।

तर, संघीय सरकारले माघीका अवसरमा दिदै आएको विदा कटौती गरेका कारण थारु आदिवासी कर्मचारी तथा व्यवसायी संघका अध्यक्ष जीतबहादुर थारु आक्रोसित छन् । माघीको एक हप्तासम्म रातभर रमाइलो गर्ने थारुहरु भाले बाँसेसँगै कोहीसँग नबोली नजिकैको नदि वा तलाउमागएर नुहाउने गर्दछन ।

विहान भगवानको नाममा नुहाउँदा जेठो छोराबाट सुरु गरी पालैपालो नुहाउने चलन छ । नुहाई सकेपछि तिलको डाठको आगो बालेर कसैसँग नबोली टिका लगाइ एकअर्काप्रति माया साटासाट गर्नु माघीको अर्को रोचक पक्ष हो ।

थारु समुदायमा तिलको आगो ताप्दा दुखकष्ट नष्ट हुने विश्वास रहेको छ । तीलको आगोबालेर टिका लगाइसकेपछि घर फर्किएर छोरी चेलीको नाममा उपहारस्वरुप चारमुठ्ठी नुन र आठ मसठ््ठी चामल छुट्याउने चलन छ ।

यति कर्म सकिएपछि मात्र थारु समयमा बोलचाल सुरु हुनेगरेको छ । बोलचाल अघिका कर्म पुरा गरेपछि सपरिवार बसी ढिक्री,घुँगी, माछा लगाएतका परिकारहरु खाने गर्दछन ।

सात परिकार खाई सकेपछि उनीहरुको घरको महत्वपूर्ण बैठक सुरु हुन्छ । बैठकमा वर्ष भरिको कार्यप्रगति समिक्षा तथा सबैको सहमतिमा खेतीपातिसहितका आगामी वर्षका योजना तर्जुमा हुनेगरेका छन् ।

घर बनाउँने, विहे गर्ने, घर छुट्टीने लगायतका निर्णयहरु समेत यही बैठकबाट हुने गर्दछन् । यसैगरी गाउँभरीका गाउँ मुली जम्मा भई मतवा, भडघर, भलमन्सा चुन्ने र गाउँको वार्षिक नेतृत्व चुन्ने गर्दछन् ।

थारु समुदायले माघे संक्रान्तिकै दिन घरमा छोरी चेली, आफन्त तथा बालबच्चाहरुलाई आफुले सक्दो पैसा दक्षिणा स्वरुप दिने गरेका छन् । घरघरमा मध्यपानसहित नाँचगान गर्ने थारु समुदायमा गीतमार्फत नै घरमुलीलाई फकाउने चलन रहेको छ । थारु संकृति नेपालको विशिष्ट र सभ्य संकृति मानिन्छ ।