अझै बाली प्रथामै गुजारा चलाउन बाध्यछन् आरान व्यवसायी

अझै बाली प्रथामै गुजारा चलाउन बाध्यछन् आरान व्यवसायी
मङ्लबार, पुस २९, २०७६

गोमा थापा
धादिङ । पुख्र्यौली रुपमा चल्दै आएको बालिघरे प्रथा धादिङको रुवि भ्यालीमा अझै कायम छ ।

अन्य धेरै पेसा व्यवसायिक भइसकेपनि विश्वकर्मा समुदायले सञ्चालन गर्दै आएको आरानले भने व्यवसायको रुप धारण गर्न सकेको छैन ।

घरायासी प्रयोजना आउने हसियाँ, कुटोकोदालो र खुकुरी लगायतका फलामका सामानहरु बनाउन र अर्जाप्न आरान लैजाने गरिन्छ ।

घरेलु हतियार, भाडाकुँडा र कृषि औजारहरु वर्ष दिनसम्म अर्जापे बापत विश्वकर्मा समुदायले आफ्ना विष्ट मार्फत प्रति घरबाट एक थुन्से मकै, कोदो, आलु र भटमास प्राप्त गर्ने गर्दछन् ।

रुवि भ्यालीका विश्वकर्माहरुले पुख्यौली रुपमै काम गर्दै आएको बालिघरे प्रथा अझै व्यवसायिक बन्न सकेको छैन । बालिघरे प्रथामा काम गर्दै आएकाहरुले प्रविधिको विकासलाई आरानलाई आधुनिक बनाउँने र व्यवसायिक बनाउन अझै सकेका छैनन् ।

आरान सञ्चालक मंगलबहादुर विक भन्छन्, ‘अझै पनि कतिपय आरान व्यवसायीहरु छालाबाट बनेको खलातीमै निर्भर हुनुपरेको छ ।’

खलाती प्रयोग गरेर संचालन गरिएका परम्परागत आरान व्यवसायमा परिश्रम र जनशक्ति बढी आवश्यक हुन्छ भने कोइलाको खपत पनि बढि हुने गर्दछ ।

वर्ष दिनभरि काम गरेर एक थुन्से मकै, कोदो जस्ता बाली ज्यालाको रुपमा लिइने बालीघरे प्रथाप्रति युवाको पुस्ताको भने रुचि देखिदैन । पुख्र्यौली रुपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई व्यवसायिक रुपमा सञ्चालन गर्न आधुनिक मेशिन तथा तालिमहरु आवश्यक रहेको बताउँछन् अर्का आरान सञ्चालक सुकबहादुर विक ।

विकास र बजारिकरण हुन नसकेको रुवि भ्याली जस्तो जिल्लाको दुर्गम र हिमाली क्षेत्रमा परंपरागत खेती र आरान व्यवसायको अझै महत्व छ ।

शहरी क्षेत्रमा पनि आधुनिक हतियारको प्रयोग बढेपछि परम्परागत हतियारको महत्व घटेको छैन । त्यसैले पनि यस पेसालाई व्यवस्थित तथा व्यवसायिक बनाउन सके आरानले राम्रो व्यवसायको रुप लिन सक्छ । जसले कर्म गरेर खाने विश्वकर्मा समुदायलाई आफ्नो परम्परागत पेशाप्रति गर्वबोध हुन सक्छ ।