कांग्रेसका वरिष्ठ नेताले भेटे भारतीय रक्षामन्त्री राजनाथ सिंह

कांग्रेसका वरिष्ठ नेताले भेटे भारतीय रक्षामन्त्री राजनाथ सिंह
बुधबार, माघ १, २०७६

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली पुगेका पौडेलले बुधबार दिउँसो भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् ।

नेता पौडेलले भेटपछी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। नेता पौडेलले सिंहसँगको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताएका छन्।

‘भारतका रक्षामन्त्री एवम् भाजपा (भारतीय जनता पार्टी) का पूर्वसभापति  माननीय राजनाथ सिंहसँग नयाँ दिल्लीमा भेटघाट,’ उनले आफ्नो फेसबुक पेजमा क्याप्सन लेखेका छन्, ‘भेटमा नेपाल र भारत बीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ।’

नेता पौडेल गत सोमबार स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका थिए। रक्तचापको जाँचका क्रममा एकैदिन फरक-फरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली जानु परेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन्।