शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि योगाभ्यास

शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि योगाभ्यास
सांकेतिक तस्वीर
बुधबार, माघ १, २०७६

रुपेश कुमार यादव

काठमाडौं- ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका आज पाँचौ राष्ट्रिय योग दिवस मनाइएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको आवश्यकताको सन्देश दिन सरकारले यो वर्ष सप्ताहव्यापी योग दिवसका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बदलिँदो जीवनशैली, खानपानका कारण मानव स्वास्थ्यमा समस्या देखिएसँगै शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि योग सबैभन्दा उपयोगी हुने योगाभ्यास गर्नेहरुको अनुभव छ ।

मानसिक, शारीरिक तथा संवेगात्मक विकासका लागि योगाभ्यास अबलम्बन गर्न आग्रह गर्दै बुधबार पाचौं राष्ट्रिय योग दिवस मनाइएको छ । यसपटक सरकारले एक हप्तासम्म योग दिवस मनाउँदैछ । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ शुरु भएको योग दिवसको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालील योग गौरवपूर्ण परम्परा र सम्पदा भएको बताए ।

अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने शैली सिकाएको र निरोगीपनका लागि योग सबैभन्दा ठूलो साधना भन्ने सन्देश दिएको बताए । त्यसैले योगलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने उनको भनाई छ ।

शरीर स्वस्थ र तन्दूरुस्त राख्नका लागि गरिने शरीरिक आसनल योगलाई आध्यात्मिक प्रक्रिया पनि मानिन्छ । जसले शरीर, मन र आत्मालाई सकारात्मक रूपले एकसाथ समावेश गर्दछ ।

योग दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताए । उनले मानसिक, शारीरिक तथा संवेगात्मक विकासका लागि योगाभ्यास अनिवार्य नै भएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्नेमा जोड दिए । योग दिवसका अवसरमा एक दिन कार्यक्रम गरेर मात्रै नहुने भन्दै उनले यसलाई जनजनमा पुर्‍याउन अभियान नै चलाउनुपर्ने तथा योग र प्राकृतिक चिकित्सालाई पाठ्यक्रममा समावेश गर्ने योजना रहेको बताए ।

मानिसमा बढ्दो स्वास्थ्य समस्याको ठूलो उपचार योगाभ्यास भएको भन्दै योग गुरु स्वामी आनन्द अरुणले योग साधनालाई पर्यटनसँग जोड्न सक्नुपर्ने बताए ।

स्वस्थ शरीरका लागि मेरो स्वास्थ्य, मेरो जिम्मेवारी महशुस गरी दैनिक ३० मिनेट योग, ध्यान र प्रणायम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । नियमित योगाभ्यासले विभिन्न प्रकारका स्वास्थ्य समस्याको दीर्घकालीन समाधान र शारीरिक तन्दुरुस्ती कायम गर्ने विज्ञहरुको भनाई छ ।