कैलाली कञ्चलपुरको आलुमा डढुवा रोग : ६ हजार ७ सय हेक्टरको आलु खेति जोखिममा

कैलाली कञ्चलपुरको आलुमा डढुवा रोग : ६ हजार ७ सय हेक्टरको आलु खेति जोखिममा
बिहिबार, माघ २, २०७६

दिनेश विष्ट

धनगढी- हिउँदे वर्षापछिको शीतलहरसँगै लामो समयसम्म बढेको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेँडासहितका हिउँदे खेतीमा डढुवा रोगको संक्रमण फैलिएको छ। आलु उत्पादन अगावै रोग देखापरेपछि उत्पादनमा ह्रास आउने देखिएको छ। शितलहर तथा पानीका कारण आलुमा डढुवाको संक्रमण देखिएको किसानहरुको गुनासो छ ।

कैलाली र कञ्चनपुरमा गत बर्ष आलु तथा गोलभेडाँको उत्पादन राम्रो भएपनि यस वर्ष भने आलु पाक्ने समय नहुँदै डढुवा रोगको संक्रमण फैलिएङ्को छ। डढुवा रोगको नियन्त्रणका लागि गरिएको औषधीलेसमेत प्रभाव नदेखाएपछि आलु उत्पादान घट्ने चिन्ताले किसानलाई सताएको छ।

बिघौं जग्गामा व्यवसायिक आलुखेति गरेका किसानहरु चिसोका कारण रोग लागेपछि निराश बनेका छन्। आलुबाटै भएको आम्दानीले घर खर्च चलाउन तथा वर्षभरिका अन्य खेतिको समेत योजना बनाउने किसान रोगका कारण खर्चसमेत नउठ्ने अवस्था आएको गुनासो गरिरहेका छन्। धनगढी उपमहानगरपालिकाका आलु किसान मछलाल राना आलुमा लागेको डढुवा रोगले वर्षभरी खानुपर्नेमा अव ऋणमा फस्ने चिन्तामा छन्।

आलु उत्पादन हुने समय अगावै भएको डढुवाको संक्रमणणले आलुको बोट नै नष्ट हुन थालेका छन्। खेतमा लगाएको तरकारी वाली डढुवा रोगले सखाप हुन थालेपछि किसानहरुले सरकारले राहत दिनुपर्ने माग गरेका छन्। आलुबालीमा बढी नोक्सान पुर्‍याएको डढुवा रोगले गोलभेडामा समेत प्रभाव देखाउन थालेको छ।

कैलाली र कञ्चनपुरमा झण्डै १५ प्रतिशत आलु र गोलभेँडा बाली नस्ट भइसकेको छ भने अन्य क्षेत्रसमेत जोखिमामा परेको सुदुरपश्चिम् प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद सर्माका अनुसार डढुवाको संक्रमणबाट आलु र गोलभेँडा बाली जोगाउन मन्त्रालयले प्रयास जारी राखेको छ।

प्रवक्ता शर्माका अनुसार क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन पानीमा प्रतिलिटर डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन मन्त्रालयले सुझाव दिएको छ।

पाक्नै लागेको आलु र गोलभेँडामा भने विषदी नछर्किन प्राविधिकहरुले सल्लाह दिएका छन्। हिउँदे आलु कैलाली जिल्लामा पाँच हजार दुई सय ३० हेक्टर र कञ्चनपुर जिल्लामा एक हजार ५ सय हेक्टर जग्गामा गरिदै आएको छ।