काठमाडौं जिल्ला अदालतद्धारा दुर्गा प्रसाईंलाई उपस्थित हुन आदेश

काठमाडौं जिल्ला अदालतद्धारा दुर्गा प्रसाईंलाई उपस्थित हुन आदेश
बिहिबार, माघ २, २०७६

काठमाडौं । झापाको बीएण्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईंविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले समाह्वान अर्थात उपस्थित हुन म्याद जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले समाह्वान गरेको हो ।

प्रसाईंले आफूसँग २० करोड रुपैयाँ घुस लिएको आरोप लगाएपछि चिकित्सा आयोगका उपाध्यक्ष डा. गिरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रसाईंविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । डा. गिरीले दायर गरेको मुद्दामाथिको प्रारम्भिक प्रक्रिया शुरु गर्दै काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले प्रतिवादी प्रसाईंलाई २१ दिन भित्र आफ्नो जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेका हुन् ।

श्रेस्तेदार श्रेष्ठले प्रसाईंविरुद्ध दायर भएको व्यक्तिवादी फौजदारी मुद्दामा समाह्वान जारी भएको जानकारी दिए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीकै उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पनि प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान अगाडि बढाएको व्यहोरा उल्लेख गरी निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंविरुद्ध पक्राउ पूर्जी नै जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले प्रसाईंको खोजी तीब्र पारेको जनाएको छ ।

प्रसाईंलाई पक्राउ गर्न आजै महानगरीय प्रहरी परिसर भक्तपुरको टोली भक्तपुरस्थित उनको निवास पुगेको थियो । तर, प्रसाईं भने भेटिएनन् । भक्तपुर प्रहरीले प्रसाईंको खोजी गरी पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयमार्फत अन्तरजिल्ला समन्वयको तयारी समेत शुरु गरेको छ ।