’ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल भोलीबाट सुरु हुँदै

’ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल भोलीबाट सुरु हुँदै
बिहिबार, माघ २, २०७६

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल भोलीबाट सुरु हुँदैछ । लिगको सातौं चरणको खेल अन्तर्गत पहिलो दिन शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ ।

लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

१३औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ । लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछन ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ ।

६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ । शनिबारै हुने दास्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ । त्यस्तै थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ ।

थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । आइतबारको पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ ।

एनआरटी ८ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ भने एपीएफ ५ अंक जोडेर ११औं स्थानमा रहेको छ । आइतबारै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२औं स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ ।

सातौं चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

ब्रिगेड ७ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौं स्थानमा रहेको छ ।

सातौं चरणको अन्तिम खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।