अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर
बिहिबार, माघ २, २०७६

एजेन्सी । अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो ।

अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो । सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अझै बलियो सम्बन्ध सुरु हुने बताए ।

त्यस्तै चीनका नेताहरुले यो सम्झौतालाई फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीचको सम्बन्ध सुधार हुने बताएका छन । सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ । अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो ।

आयात हुने चिनियाँ वस्तुमा पनि भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो ।

सन् २०१८ देखि अमेरिका र चीनबीचको व्यापार युद्ध चर्किएपछि विश्वभर नै लगानीमा असर परेको थियो ।