सभामुख चयन प्रकृया चाँडो सुरु गर्न नेकपालाई कांग्रेसको आग्रह

सभामुख चयन प्रकृया चाँडो सुरु गर्न नेकपालाई कांग्रेसको आग्रह
शुक्रबार, माघ ३, २०७६

काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो ।

कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगका आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ ।

पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ । पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले यहि सदनबाटै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।