तनहुँको शुक्लागण्डकीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सुरु

तनहुँको शुक्लागण्डकीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सुरु
शुक्रबार, माघ ३, २०७६

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा विशेषज्ञ चिकित्सकसहितको तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्दले तनहुँका शुक्लगण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे तथा स्याङजा, कास्की, पाल्पा जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई लक्ष्ीत गरी शिविर संचालन भएको हो ।

शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरे । मन्त्री ढकालले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको नाम अनुसारको काम गर्न सरकार लागि परेको र यसका लागि केन्द्रले आवश्यक कदम अगाडि बढाउन आग्रह गरे ।

पृथ्वीराजमार्गसँगै जोडिएको करिब ७४० रोपनी क्षेत्रफलमा निर्माणाधिन श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि आउने विरामीले अन्यत्र जानु नपर्ने बनाउन लागेको मन्त्री ढाकालको भनाई छ । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा श्वासप्रश्वास, पाठेघरको मुखको क्यान्सर परीक्षण, जनरल मेडिसिन सेवा, बालरोग लगायत अन्य सेवाहरुको साथै निःशुल्क रुपमा ल्याव परीक्षण, तथा औषधी वितरण समेत गरिने बताइएको छ ।