ओली-दाहाल विमतिले संसद बन्धक बनेको कांग्रेसको निष्कर्ष : स‌ंसदलाई नेतृत्वबिहिन नराख्न चेतावनी

ओली-दाहाल विमतिले संसद बन्धक बनेको कांग्रेसको निष्कर्ष : स‌ंसदलाई नेतृत्वबिहिन नराख्न चेतावनी
शुक्रबार, माघ ३, २०७६

श्रीकृष्ण सुवेदी
काठमाडौं- नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई चेतावनी दिएको छ।  पार्टीभित्रको गुटबन्दीका कारण संसदलाई  बन्धक बनाउन नहुने भन्दै अनिर्णयको बन्दी नबन्न समेत नेकपालाई आग्रह गरेको हो ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेको लागि बोलाईएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न  नेकपालाई आग्रह गरेको हो ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेका अनुसार कांग्रेसले सभामुख चयन प्रक्रियामा भइरहेको ढिलाईबारे नेकपासँग छलफल समेत गर्ने तयारी गरेको छ।  नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको स्वार्थमा लामो समयसम्म संसदलाई अनिर्णयको बन्दी बनाइएको भन्दै कांग्रेसले आपत्ति पनि जनाएको छ।

तर, नेकपाले भने सभामुख चयनमा सहमतिको नजिक पुगिसकेकाले छिटै सँसदले नेता पाउने दावी गरेको छ। नेकपा नेता हरिवोल गजुरेलका अनुसार नेकपाभित्र प्रमुख नेताहरु सहमति नजिक पुगिसकेकाले ६ गते नै सभामुख चयन हुनेछ।

कांग्रेसले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पालामा भएको एमसीसी सम्झौता संसदबाट पारित गर्न  माग गरेको छ । कांग्रेस संसदीय दलको बैठकले चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्नुपर्ने धारणा बनाएको हो ।

कांग्रे स‌सदीय दलले यही माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न आग्रह ससमेत गरेको छ ।