एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबलमा पुरुषतर्फ एपीएफको विजयी सुरुवात

एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबलमा पुरुषतर्फ एपीएफको विजयी सुरुवात
शुक्रबार, माघ ३, २०७६

विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संकरणको एनभीए राष्ट्रिय महिला –पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज सम्पन्न खेलमा रारा बुलबुले क्लबलाई ३/१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

पहिलो सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । एपीएफले खेलमा पहिलो सेट २३/२५ ले गुमाएको थियो ।

त्यसपछिका तीन सेट लगातार २५/१२, २५/२० र २५/१८ ले जितेको हो । यो जितसँगै समूह ’बी’ मा रहेको एपीएफ क्वार्टरफाइनल नजिक पुगेको छ ।

एपीएफले १ खेलमा २ अंक जोडेको छ । पुरुषतर्फ नै यस अघि साविक विजेता त्रिभुवन आर्मी क्लबले आरजी ग्रुपलाई ३/० को सेटमा पराजित गरेको थियो ।

आर्मीले आरजी ग्रुपलाई २५/९, २५/१६ र २५/९ ले पराजित गर्यो । प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ भने महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर, ब्लकर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।