लमजुङ कारागारका कैदीबन्दीलाई योग प्रशिक्षण

शारिरिक समस्यासँगै मानसिक सतुष्टीबाट तनाव मुक्त हुने अपेक्षा

लमजुङ कारागारका कैदीबन्दीलाई योग प्रशिक्षण
आइतवार, माघ ५, २०७६

बेसीसहर- लमजुङ कारागारका कैदीबन्दीलाई तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ। सुधार गृहका रुपमा स्थापित कारागामा पुग्नेहरुमा सुधारको अपेक्षासहित योग प्रशिक्षण दिइएको हो।

कारागारमा बसेका कैदीहरुलाई तनाव व्यवस्थापन र सकारात्मक सोचको विकास लागि कारागारभित्रै योग तालिम दिइएको छ । राष्ट्रिय योग दिवसको अवसर पारेर कैदीबन्दीको मानसिक र शारिरिक स्वास्थ्य राम्रो बनाउन प्रशिक्षण दिइएको हो।

कारागारमा रहेका पुरुष कैदीबन्दीलाई मर्स्याङ्दी गाउँपालिकाका वैद्य निरीक्षण सुनिल तिवारी, लमजुङ योग तथा प्राकृतिक चिकित्साका तेजनारायण अधिकारीले तथा महिलालाई पतञ्जली योग केन्द्रका अंगराज घिमिरेले प्रशिक्षण दिएका हुन्।

३५ जनाको क्षमता रहेको लमजुङ कारागारमा ८२ जना कैदीबन्दी रहेका छन्। जसमध्ये ७४ जना पुरुष र ८ जना महिला छन्। योगले मानिसलाई शारिरिकमात्र नभएर मानसिकरुपमा पनि तन्दुरुस्त बनाउँने हुनाले सुधार गृहका लागि महत्वपूर्ण प्रशिक्षण हुने अनुमान गरिएको छ। कारागारका चौकीदार दिनेश परियारले कारगारमै योगको प्रशिक्षण लिन कैदीबन्दीहरु खुशी भएको जानकारी दिए।

योगअभ्यासबाट कैदीबन्दीमा हुने मानसिक चिन्तालाई रोक्न समेत मद्धत पुग्ने अपेक्षा गरिएको छ।  लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काकाका अनुसार अन्य मानिसले जस्तै कैदीबन्दीले पनि स्वस्थ जीवन विताउन पाउनु पर्छ। उनले त्यही कारण कैदीबन्दिका लागी प्रशिक्षण राखिएको बताए।

प्रशिक्षणमा जीवन के हो, जीउने कला कस्तो हुनुपर्छ, आध्यामिकता, नैतिकता, अनुशासन के हुन् तथा नैतिक आचरणको महत्व के हुन्छ जस्ता विषयहरु समेटिएको थियो।

योगले तनावमुक्त हुनका साथै नसर्ने दिर्घ रोगको खतराबाट बाहिर राख्न सहयोग पुर्‍याउँछ। बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दिर्घ रोगले धेरै मानिस समस्यामा परेका बेला योगलाई दिर्घकालिन समाधानका रुपमा व्याख्या गरिएको छ।