नेकपा र राजपाको तालमेल अब सत्ता समीकरण तर्फ !

नेकपा र राजपाको तालमेल अब सत्ता समीकरण तर्फ !
आइतवार, माघ ५, २०७६

रुपेश कुमार यादव
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी राजपाबीच राष्ट्रिय सभा निर्वाचनका लागि भएको तालमेल सत्तासमीकरणसँग जोडिएको विश्लेषण हुन थालेको छ ।

नेकपाका नेताले राजपालाई सरकारमा सामेल हुन आह्वान गर्न थालेका छन् भने संविधान संशोधनको माग सम्बोधन भए सरकारमा सहभागी हुन राजपा तयार छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पाटी (राजपा) बीच भएको दुई बुँदे सहमति सत्ता समीकरणमा पनि जोडिने सम्भावना बढेको छ ।

राजपालाई सरकारमा सहभागी गराउने विषयमा दुई दलबीच छलफल शुरु भएको छ । तर, सत्ता समीकरण त्यत्ति सहज छैन । किनकी राजपाको पहिलो शर्त संविधान संशोधन नै छ भने यही विषयमा नेकपा प्रवेश गर्न नचाहँदा उपेन्द्र यादव नेतृत्वमा समाजवादी पार्टीले सरकार नै छाडेको छ ।

विगतका यी विषयलाई एकतातिर थन्क्याएर सहकार्य गर्न राजपालाई आग्रह गरेको नेकपाका नेता देवेन्द्र पौडेलले बताए ।

नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेको राजपाले आफ्ना सांसद रेशक चौधरीलाई पक्राउ गरेपनि समर्थन फिर्ता लिएको थियो । त्यसपछि बढेको दूरी राष्ट्रिय सभा निर्वाचनले जोडेको राजपाका नेताहरुले बताउँदै आएका छन् ।

अहिले पनि राजपा नेतृत्वले संविधान संशोधन, बन्दी रिहा लगायत आफूले उठाएमा मुद्धा सम्बोधन भए सहकार्यको सम्भावना रहेको बताउँदै आएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले पनि विषय मिले सरकारमा जाने कुरा टाढाको नभएको बताएका छन् ।

हुन त राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन् । राजनीतिमा पार्टी र व्यक्ति हैन, दृष्टिकोण र एजेण्डा मिल्नुपर्छ । यतिखेर नेकपा–राजपाको स्वार्थ मिल्दा एजेन्डालाई पनि मिलाउने प्रयास भएको राजनीतिक विश्लेष्कहरु बताउँछन् । समाजपार्टी पार्टीले सरकार छाड्नु र राष्ट्रियसभामा सिट संख्या बढाउन नेकपा र राजपाबीच तालमेल हुनु सत्ता समीकरण कै खेलमा रुपमा लिने गरिएको छ ।