बाख्रापालनबाट लोभलाग्दो आम्दानी

बाख्रापालनबाट लोभलाग्दो आम्दानी
आइतवार, माघ ५, २०७६

हर्क चन्द
डडेल्धुरा । देशमा रोजगारी नपाएर लाखौँ युवा विदेशिएका छन् । आफ्नो स्वास्थ्यको प्रवाह नगरी विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई डडेलधुराका यूवाले भने आफ्न गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ भनेर उदाहरण दिएका छन् ।

डडेलधुराका यूवाले व्यवसायिक बाख्रापालनमार्फत स्वदेशमै रोजगारी पाइन्छ भनेर मात्र देखाएका छैनन् लोभलाग्दो आम्दानी समेत गरिरहेका छन् ।

डडेल्धुरामा पछिल्लो समय बाख्रपालन व्यवसाय फस्टाउदै गएको छ । अन्य व्यवसाय भन्दा सजिलो र चाडै राम्रो आम्दानी पनि दिने हुँदा बाख्रापालन व्यवसाय यूवाको आकर्षणमा परेको छ ।

बाख्रा पाल्ने व्यवसायिक यूवाको उदाहरण बनेका छन्–मगराउका सुरेन्द्रबहादुर चन्द । जिल्लाको अजयमेरु गाउँपालिका–३ मगराउँका ३७ बर्षीया सुरेन्द्रबहादुरले ६ बर्ष अगाडीबाट बाख्रापालन व्यवसाय शुरु गरेका हुन ।

अहिले चन्दले व्यवस्थित रुपमा फर्म नै दर्ता गरेर आधुनिक खोरमा ५२ ओटा बाख्रा पालेका छन् । आकर्षक बाख्रा भएका कारण मिलन पोल्ट्री तथा बाख्रा पालन फर्म हेर्न अहिले छिमेकी जिल्ला बैतडी, बझाङ, दाचुर्ला लगायतका कृषक आउने गरेका छन् ।

व्यवसायिक बाख्रापालनबाट चन्दले बार्षिक बैङ्क व्याज तथा तीन छोराहरुको पढाई खर्च र घरखर्च कटाएर दुई लाख रुपैया आम्दानी गरिरहेका छन् ।

पाँच सदस्य रहेको परिवारमा उनले परिवारका सदस्यबाट पनि व्यवसायमा सहयोग पुर्‍याएका छन् । श्रीमान–श्रीमती मिलेर बाख्राको स्याहारसुसार गरेपछि उनीहरुको व्यवसाय मजाले फस्टाएको छ ।

बाख्रापालन गर्न चन्दले अहिले २८ रोपनी गहुँ तथा मकैखेती हुने जमिनमा विभिन्न जातका घाँस लगाएका छन् । बाख्राहरुलाई चरनक्षेत्र प्राप्त भएपनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घासँखेतीको पनि सुरुवात गरेका हुन् ।

बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि प्रयाप्त जंगल क्षेत्र भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । केही वर्ष पहिलेसम्म मासुका लागि खसीबोका आयात हुने डडेल्धुराबाट अहिले भने खसीबोका निर्यात हुने गरेको छ ।

युवाहरुमा इच्छा शक्ति दरिलो भए आफ्नैभूमिमा राम्रो आम्दानी गर्न सकिन्छ । सम्बन्धित निकायले पनि युवा व्यवसायीहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउन आवश्यक छ ।