अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय

नेम्वाङको अन्तिमसम्मको दौड परिणाम विहिन्

अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय
आइतवार, माघ ५, २०७६

काठमाडौं- नेकपा सचिवालय बैठकले स्थायी कमिटि  सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार अपरान्ह बसेको सचिवालय बैठकबाट सापकोटाको नाम सर्बसम्मत अनुमोदन भएको हो।

नेकपामा सहमति जुट्न नसक्दा गत पुस ४ गते बसेर स्थगित भएको प्रतिनिधिसभा बैठक चार पटकसम्म स्थगित भएको थियो।

नेकपाका महासचिव विष्णु पौडेलले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको जानकारी दिए। उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेले चाडै राजीनामा दिने पनि बताए।

सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्ष दाहालले सुरु देखि नै प्रस्ताव गरेपनि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका कारण निर्णयमा ढिलाई भएको थियो।

ओलीले अन्तिम समयसम्म पूर्वसभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने अडान राखेका थिए भने नेम्बाङ स्वयम्ले पनि आफ्ना पक्षमा सहमति जुटाउन पार्टी भित्र र बाहिर लिवङ जारी राखेका थिए।

निर्णयको केहीबेर अघि सम्म पनि नेम्वाङले एक अध्यक्षले प्रस्ताव गरेको र अर्का अध्यक्ष हाँसेको भन्दै आफै बन्ने माहोल रहेको प्रतिक्रिया दिएका थिए।