संसदमै स‌ंबोधन गरेर उपसभामुख तुम्बाहाङफेको राजीनामा

नेकपाले सभामुख लिएपछि उपसभामुख अन्य पार्टीले पाउने अवस्था

संसदमै स‌ंबोधन गरेर उपसभामुख तुम्बाहाङफेको राजीनामा
सोमवार, माघ ६, २०७६

काठमाडौं- उपसभामुख डा शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन्। नेकपालेसचिवालय बैठकबाट निर्णय नै गरेर राजीनामाका लागि आग्रह गर्दा समेत राजीनामा दिन्न भन्दै बसेकी तुम्बाहाङ्फेले सोमबार संसदको बैठकलाई संबोधन गर्दै राजीनामा दिएकी हुन्।

पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला नेकपाले आफै सभामुख लिने भन्दै तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको थियो। तर उपसभामुख तुम्बाहाङफेले अरुको गल्तिको सजाय आफूले भोग्न नपर्ने भन्दै आफूलाई सभामुख बनाउने निर्णय गर्न आग्रह गरेकी थिएन् ।

नेकपाको आग्रह अस्वीकार गर्दै राजीनामा नदिने घोषणा गरेकी तुम्बाहाङफेले नेकपाले सभामुखको उम्मेदवार स्थायी कमिटि सदस्य अग्नि सापकोटालाई बनाउने निर्णय पछि राजीनामा दिएकी हुन्।

राजीनामा उनले आफूले विगतमा राखेको अडानलाई संसदलाई नेतृत्वविहिन बनाएर हिड्न उपयुक्त नहुने ठहरका कारण राखेको उपयुक्त अडानका रुपमा व्याख्या गरेकी छन्। उनले स‌ंसदको प्रकृयालाई सहज बनाउन आफूले राजीनामा दिएको बताएकी छन्।

उनको राजीनामासँगै स‌सद स्थगित भएको छ र उपसभामुखबाट राजीनामा दिएको घोषणा गरेकी उनले लगत्तै पत्रकार सम्मेलन गरेकी छन्।

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने स‌बैधानिक बाध्यताका कारण नेकपाले सभामुख लिन उपसभामुख तुम्बाहाङफेको राजीनामा गराएको हो।

यससँगै अव उपसभामुख कुन पार्टीले पाउने भन्ने बहस सुरुभएको छ।