सभामुख निर्वाचन माघ १२ गते

सभामुख निर्वाचन माघ १२ गते
सोमवार, माघ ६, २०७६

काठमाडौं । प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । उपसभामुख शिबमाया तुम्बाहाम्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावलि २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाम्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए । लगत्तै उनले प्रतिनिधिसभा नियमावलिको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलाई निर्देशन दिए ।

उपसभामुख तुम्बाहाम्फेले पहिलो बैठकमा सम्बोधन गर्दै राजीनामा दिएकी दिएकी थिईन । उनको राजीनामा पछि ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गरेका हुन् । यसअघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते आईतबार अपरान्ह ३ बजे का लागि बोलाईएको छ ।