मनाङको तातोपानी कुण्डमा नुहाउने पर्यटकको भीड

मनाङको तातोपानी कुण्डमा नुहाउने पर्यटकको भीड
मङ्लबार, माघ ७, २०७६

मनाङ- बाह्रै महिना चिसो हुने हिमालपारीको जिल्ला मनाङको तातोपानी कुण्डमा वरीपरी हिउँ झरेपनि पानी चिस्सिएको छैन। घरभित्र राखेको पानी समेत जमेर खान योग्य नहुने यो सिजनमा पनि तातो पानी कुण्ड भने सेलाएको छैन।

अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको बेला चामे गाउँपालिका ५ मा रहेको तातोपानी कुण्डमा भने अहिले पनि नुहाउने पर्यटकको भीड लाग्ने गरेको छ ।

हिमालपारीको जिल्ला मनाङ आकर्षक पर्यटकीय गन्तव्य पनि हो।  यहाँको प्राकृतिक सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्छ।  बाह्रै महिना चिसो हुने मनाङको तातोपानी कुण्ड प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका कारण आकर्षक गन्तव्य बन्दै गएको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार तातोपानी कुण्डमा दिनप्रतिदिन पर्यटकको संख्या बढिरहेको छ।

चामे गाउँपालिका वडा नम्बर ५ को पोखरीमा आउने पर्यटक प्राय एक दिन बसेर फर्कने गरेका छन्। प्राकृतिको आनन्द लिन, थकान मेटाउन पोखरीमा नुहाउनकै लागि पर्यटक पुग्ने गरेका छन्।

यो पोखरीमा नुहाउँदा अलौकिक आनन्द प्राप्ती हुने विश्वास पनि रहेकले पनि टाढा टाढा बाट आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

चामे गाउँपालिकाका अध्यक्ष घलेका अनुसार यो क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी पर्यटकको आकर्षण बढाउने योजना बनिसकेको छ।

तातोपानी कुण्डमा नुहाउनकै लागि जाडो सिजनमा दैनिक करिब ४ सयभन्दा बढी पर्यटक आउने गरेका छन्। त्यस्तै स्थानीयबासी र कर्मचारीले लुगाधुन यही कुण्डको पानी प्रयोग गर्ने गरेका छन्।

लमजुङको बेसीशहर देखि ६५ किलोमिटरको दुरीमा तातोपानी कुण्ड पुग्न बेसीसहरबाट जीपमा ४ घण्टा यात्रा गर्नुपर्छ।