एन्फा कास्कीका अध्यक्षलाई दीपक मनाङको मुक्का प्रहार, मनाङेविरुद्ध कानूनी लडाई लड्ने

एन्फा कास्कीका अध्यक्षलाई दीपक मनाङको मुक्का प्रहार, मनाङेविरुद्ध कानूनी लडाई लड्ने
पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटवल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ ।
बुधबार, माघ ८, २०७६

सुवास पौडेल

कास्की । अखिल नेपाल फुटवल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई मुक्का प्रहार गरेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले आफुलाई मुक्का प्रहार गरेको आरोप लगाए ।

मंगलबार पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा गुरुङद्वयबीच जम्काभेट भएको थियो ।

त्यही क्रममा प्रदेश सांसद दीपक मनाङ्गेले आफूलाई तीन पटक प्रहार गरेको पत्रकार सम्मेलन गर्दै मिलनले बताए ।

पटक पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा समेत परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेको अध्यक्ष मिलनको भनाई छ ।

अध्यक्ष गुरुङले मनाङे विरुद्ध कानूनी लडाइँ लड्ने बताएका छन् ।

यसैबीच दीपक मनाङेले पनि पत्रकार सम्मेलन गरी घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।