एन्फा र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच सम्झौता

एन्फा र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच सम्झौता
बुधबार, माघ ८, २०७६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ ।

नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २ सय ४ वर्ष पुगेको अवसरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा आयोजना हुने शेर्पाले बताए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा सञ्चालन हुने बताए ।

सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उनले बताए । वार्षिक रुपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास एन्फाबाट हुने र सोही अनुसार काम अगाडी बढाउने उनले बताए ।

मे २५ मा हुने पहिलो मैत्रीपूर्ण खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । त्यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छ । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।