राष्ट्रियसभाका लागि १८ सांसद चुनिए, १६ सिटमा नेकपाको जीत, २ सीट राजपालाई कांग्रेसका सातै सिट गुमे

राष्ट्रियसभाका लागि १८ सांसद चुनिए, १६ सिटमा नेकपाको जीत, २ सीट राजपालाई कांग्रेसका सातै सिट गुमे
बिहिबार, माघ ९, २०७६

काठमाडौं- राष्ट्रियसभा सदस्य चयनका लागि आज भएको निर्वाचनबाट १८ जना निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा १६ जना नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेद्वार छन् भने २ जना राष्ट्रिय जनता पार्टी राजपाका उम्मेद्वार छन् । यो निर्वाचनबाट प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाका ७ सिट गुमाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचना अनुसार प्रदेश नम्बर १ बाट नेकपाका तीनैजना उम्मेद्वार विजयी भएका छन् । प्रदेश १ मा महिलातर्फ इन्दिरा देवी गौतम, दलिततर्फ गोपीबहादुर साकी आछामी र अन्यमा देवेन्द्र दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै प्रदेश २ मा नेकपाका २ र राजपाका २ उम्मेद्वार विजयी भएका छन् । महिला तर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलित तर्फ नेकपाकै राधेश्याम पासवान विजयी हुँदा अन्यमा राजपाका मृगेन्द्रकुमार सिंह र अपांगता भएको व्यक्ति वा अल्पसंख्यकबाट राजपाका शेखर कुमार सिंह विजयी भएका छन् ।

बागमती प्रदेशमा महिला तर्फ नेकपाकी गंगाकुमारी बेलबासे र अन्यमा नेकपाकै बेदुराम भुसाल निर्वाचत भएका छन् ।

गण्डकी प्रदेशमा महिलातर्फ नेकपाकी भगवती न्यौपानै र अन्यमा नेकपाकै नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

प्रदेश ५ मा महिला तर्फ नेकपाकी बिमला घिमिरे, अन्यमा नेकपा कै गोपाल भट्टराई र अपांगता भएको व्यक्ति वा अल्पसंख्यकमा नेकपाकै जगप्रसाद शर्मा विजयी भएका छन् । कर्णाली प्रदेशमा पनि महिला तर्फ नेकपाकी सुमित्रा बिसी र अन्यमा नेकपाकै माया प्रसाद शर्मा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा महिला तर्फ नेकपाकी शारदा देवी भट्ट र अन्यमा नेकपाकै ताराबहादुर स्वाँर विजयी भएका छन् । राष्ट्रिय सभाको १८ सदस्यीय पदका लागि आज १० बजेदेखि ५ बजेसम्म भएको निर्वाचनको आजै मतगणा सम्पन्न भएको हो । १८ पदका लागि ४५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।