प्रदेश १ लोकसेवा आयोगका पदाधिकारीले खाए सपथ, अव काम सुरु

प्रदेश १ लोकसेवा आयोगका पदाधिकारीले खाए सपथ, अव काम सुरु
शुक्रबार, माघ १०, २०७६

प्रदेश-१ लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को उपस्थितिमा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, सदस्यद्वय टीकादत्त राई र सजना दाहालले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) बमोजिम मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गठित सिफारिस समितिले माघ ६ गते उनीहरूको नाम सिफारिस गरेको थियो। सोही सिफारिस बमोजिम तीनैजनालाई बिहीबार प्रदेश प्रमुख अधिकारीले अध्यक्ष र सदस्य पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त अध्यक्ष भट्टराईलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका हुन्। सदस्यद्वय राई र दाहाललाई अध्यक्ष भट्टराईले सपथ ग्रहण गराए।

प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमै प्रदेश लोकसेवा आयोग कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ। तर हालसम्म कार्यालयको व्यवस्थापन नभएका कारण नवनियुक्त पदाधिकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थापना गरिएको अस्थायी कार्यालयमा रहेर काम गर्नेछन्।

बिहीबारै उनीहरूले मुख्यमन्त्री कार्यालयमै गएर पदभारसमेत ग्रहण गरेका हुन्।