अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
आइतवार, माघ १२, २०७६

काठमाडौं । अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सभामुखमा निर्वाचित गराएको हो । सभामुखका लागि एकमात्र उम्मेद्वारी परेपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

सापकोटालाई सभामुखमा नियुक्त गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुभास नेम्बाङले प्रस्ताव गरेका थिए । नेम्बाङको प्रस्तावलाई नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले समर्थन गरेका थिए ।

सभामुखमा सापकोटाको प्रस्ताव र समर्थनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सभामुखको गरिमालाई जोगाउँदै सबैलाई मिलाएर अघि बढ्न सापकोटा सफल हुने अपेक्षा गरेको जनाएको छ । सापकोटालाई प्रतिनिधिसभामा जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

सापकोटालाई सभामुखमा निर्वाचित गरेसँगै आजको संसद बैठक सकिएको छ । बैठक आगामी माघ १४ गतेसम्मका लागि स्थगित भएको छ ।