भारतको गणतन्त्र दिवसको अवसरमा नेपाललाई ३० एम्बुलेन्स सहयोग

भारतको गणतन्त्र दिवसको अवसरमा नेपाललाई ३० एम्बुलेन्स सहयोग
आइतवार, माघ १२, २०७६

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई ३० एम्बुलेन्स सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा भारतीय दूतावासले नेपालका विभिन्न गैर नाफामूलक संस्थालाई ३० एम्बुलेन्स वितरण गरेको हो । दुतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ ।

नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।

कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे । कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवशरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता जनाएको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ ।

दिवसका अवशरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागिता थियो ।