चीनमा कोरोना आतंक : भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० पुग्यो

चीनमा कोरोना आतंक : भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० पुग्यो
सोमवार, माघ १३, २०७६

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरसहित ८० जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि उपचारमा खटिएका हेबई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षका डाक्टर लियाङ बुदोङको पनि मृत्यु भएको छ।

२ हजार ७ सय ४४ मानिस कोरोनाको संक्रमणपछि अस्पतालमा उपचारारत छन् भने झण्डै ६ हजार मानिसलाई संक्रमण भएको आशंका गरिएको छ। ३० हजार मानिसलाई प्रत्यक्ष निगरानीमा राखिएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

कोरोना भाईरसको संक्रमण फैलंदै मृत्यु हुनेको सुंख्या बढ्दै गएपछि हुबेई प्रान्तका नौ वटा शहरमा आवतजावत नै बन्द गर्ने निर्णय चिनियाँ सरकारले गरेको छ।

त्यहाँका स्थानीय प्रशासनले जंगली जनावर र पशु बजार क्षेत्रमा पनि कडाई गर्न निर्देशन दिएका छन। यो प्रतिबन्धका कारण ३ करोड २० लाख व्यक्तिको जनजीवन प्रभावित बनेको छ।

चीनको हुबेई प्रान्तको वुहान शहर कोरोना भाईरसको उद्गमस्थल तथा बढी प्रभावित स्थल हो। यो भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका छन।