सभामुखको सपथपछि अग्निप्रसादले भने ‘अव म पूर्णरुपमा साझा भएँ’

सभामुखको सपथपछि अग्निप्रसादले भने ‘अव म पूर्णरुपमा साझा भएँ’
सोमवार, माघ १३, २०७६

काठमाडौं- नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफू पूर्णरुपमा साझा व्यक्ति भएको बताएका छन्। सपथपछि संचारकर्मीसँग आफ्नै कार्यकक्षमा भेट गरेका सभामुख सापकोटाले पार्टीसँगको सम्बन्ध सपथसँगै अन्त्य भएको बताए।

‘आज मैले सपथ गरे र आजै देखि म पूर्णरुपमा साझा भए,’ सभामुख सापकोटाले भने, ‘प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिमा सपथ खाएको छुँ। अब मेरो जिम्मेवारी स‌ंसदलाई जीवन्त र प्रभावकारी बनाउनेमा हुने छ।’

सभामुख भएलगत्तै दौडेर प्रधानमन्त्री भेट्न गएका कारण तपाई प्रधानमन्त्रीप्रति वा सरकारप्रति बढि जवादेहि हुने श‌ंकेत गरेको त हैन भन्ने प्रश्नमा सापकोटाले  ‘हिजोसम्म त मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष पनि भएका कारणले उहाँबाट बधाई लिन शुरु गर्न खोजें, यो स्वभाविक पनि छ’ भनेका थिए।

उनले आफूले कांग्रेस उपसभापतिसँग पनि भेटेको भन्दै अवका दिनमा सभामुखकै हैसियतमा पदीय मर्यादा र आचरण अनुरुप काम गर्ने बताए।

सभामुख सापकोटाले एमसीसीबारे बाहिर विवाद भइरहेपनि संसदभित्रको बहसले िनचाड निकाल्ने बताए। ‘एमसीसीको बारेमा बहश छेडिएको छ, जब बहशबाटै निचोड निस्कन्छ,’ सापकोटाले भने, ‘अध्ययन गर्दै जाउँ न सबैले, यसमा प्रतिक्रिया दिन किन हतार गर्नुपर्‍यो ?’

सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रहेको रिटका विषयमा पनि उनले प्रतिक्रिया दिन चाहेनन् । ‘त्यो प्रक्रिया अहिले अदालतमा छ, त्यसबारेमा अहिले बढि बोल्नु मनासिव हुँदैन ,’ सापकोटाले भने ।