कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई समुहबीच झडप

नेता मुक दर्शक

कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई समुहबीच झडप
सोमवार, माघ १३, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भातृ संगठन नेपाल विद्यार्थी संघका दुई समुहबीच झडप भएको छ।

पार्टीले नै बनाइदिएको विधानमा ३२ वर्षे उमेर हद राखिएपनि त्यसलाई कुल्चिएर  नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेको समुहलाई उमेर हद विरुद्ध रहेको समुहले धर्नास्थलमै कुटपिट गरेपछि झडप भएको हो।

नेविसंघको विधान अनुरुप ३२ वर्षे उमेर हद लागु हुनुपर्छ भन्दै ४१ दिन देखि रिले अनसनमा रहेको समुहले सभापति शेरबहादुर देउवा कार्यलय प्रवेश गर्दैगर्दा उमेर हद कायम गर्न माग गर्दै नारावाजी गरेका थिए।

तर, पार्टी नेतृत्वले विधानको व्यवस्था विपरित ५० वर्षीय राजीव ढुङ्गानालाई नेतृत्वमा ल्याउ्ँदा समर्थन जनाएको समुहले सभापति देउवालाई स्कर्टिङको वाहनामा धर्नामा बसेकाहरुलाई तितरवितर पार्दै कुटपिट थालेको थियो।

कुटपिटपछि सुरु भएको झडपमाधर्नारत पक्षको समुह कमजोर भएकाले घाइते त्यतै तर्फ धेरै भएको बताइएको छ।

उमेर हद लागू नगर्ने पक्षमा रहेका सभापति देउवा र विधान अनुरुप उमेर हद लागू गर्नुपर्ने पक्षमा रहेका रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच उमेर हदको व्यवस्था विपरित नेविसंघ नेतृत्व ल्याउनेगरी गत १० गते सहमति भएको थियो।

गतवर्ष नेविसंघ विधान कांग्रेस केन्द्रीय समितिमा उमेर हद लागू गर्ने पक्षमा सभापति देउवा थिए भने विधानमा यो निर्णय गर्दा वरिष७ नेता रामचन्द्र पौडेल र सिटौलाले नोट अफ डिसेन्ट लेखेका थिए।

विगतको भन्दा ठिक उल्टो अडानमा रहेका दुइपक्षबीच अन्त्यमा भागवण्डाको सहमति भएको थियो। नेतृत्वले गरेको विधि विपरितको सहमति मान्दैनौ भन्दै नाराबाजी गर्नेहरु अर्को समुहको कुटाइ खाएर धर्नास्थलबाट हटेका छन्।