फागुनदेखि नारायणी नदीमा चल्ने भयो पानी जहाज 

फागुनदेखि नारायणी नदीमा चल्ने भयो पानी जहाज 
मङ्लबार, माघ २८, २०७६

चितवन- नारायणी नदीमा आउँदो फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै नारायणी नदीमा जहाज निर्माण थालिएको हो ।

क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिए । उनले अबको केही दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी  दिए ।

क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरू रहनेछन् ।

भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए ।