विकास बजेट खर्च गर्न नसक्नेलाई प्रधानमन्त्रीको प्रश्न – अर्बौ माग्ने अनि करोड खर्च गर्न नसक्ने ?

विकास बजेट खर्च गर्न नसक्नेलाई प्रधानमन्त्रीको प्रश्न – अर्बौ माग्ने अनि करोड खर्च गर्न नसक्ने ?
मङ्लबार, माघ २८, २०७६

श्रीकृष्ण सुवेदी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विकास खर्च पनि विगतका वर्षहरुमा जस्तै न्यून देखिएको छ ।

शक्तिशाली सरकार र समयमै बजेट आउंदा समेत पुजिंगत खर्च हुन नसक्नुलाई विज्ञहरु भने राजनीतिक र कर्मचारी नेतृत्वकै समस्या भएको बताउछन् ।

दुई तिहाई बहुमतसहितको शक्तिशाली सरकार र समयमै बजेट आउंदासमेत पुजिंगत खर्चको अवस्था यो वर्ष पनि ज्यादै न्यून देखिएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिकी समीक्षामा मन्त्रालय, विभाग र योजनाहरु कसैले पनि अपेक्षित रुपमा विकास बजेट खर्च गर्न सकेका छैनन् ।

मध्य माघको अन्तिमसम्म १५ प्रतिशत पनि विकास खर्च हुन सकेको छैन । जसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि असन्तुष्ट बनेका छन् ।

मन्त्रालय र आयोजनाहरुले अबौं रुपैंया विकास बजेट माग्ने तर परिणाममा करोडमात्र खर्च हुने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगमाफत निगरानी गर्न निर्देशन पनि दिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कंडेलले बताए ।

चालु आर्थिक वर्षको लागि छुट्याइएको ४ खर्ब ८ अर्ब ५९ लाख रुपैंया पुँजिगत बजेटमा आधा वर्षसम्म पनि निरासाजनक खर्च प्रवृत्तिले सरकारले राखेका लक्ष्य यसवर्षपनि पुरा नहुने आशंका बढेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले बताए ।

पुजिगत खर्च नहुने समस्या नेपालमा पुरानै समस्या हो । केहि वर्ष यता यसको दर ह्वात्तै बढेको छ । अनि आर्थिक वर्षको अन्तिममा रातारात काम गरेर बजेट झ्वाम पार्ने पद्दती नौलो होइन ।

स्थानीय र उपभोक्ताको असहयोग, अख्तियारको त्रास, कमजोर सुशासनजस्ता कारण पनि बजेट कार्यान्वयनमा प्रगति आउन नसकेको अर्थविद्हरुको ठम्याई छ । जसको कारण बजेटरी प्रक्रियामै समस्या पर्न सक्ने अर्थविद्हरुको बुझाई छ ।