अमेरिकी राष्ट्रपति उम्मेदवारको लागि बर्नी सान्डर्स र पिट् बुटजजको प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति उम्मेदवारको लागि बर्नी सान्डर्स र पिट् बुटजजको प्रतिस्पर्धा
बुधबार, माघ २९, २०७६

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रियाले गति लिएको छ।

गएको हप्ता आयोवामा भएको डेमोक्र्याटिक पार्टीको प्राइमरी ककसपछि यो हप्ता न्यू ह्याम्पसरका डेमोक्र्याटले आफ्नो उम्मेदवार छान्नका लागि मत दिएका थिए । मंगलबार भएको मतदानको अहिले मतगणना भइरहेको छ ।

न्यू ह्याम्पसरमा भेट्रान सिनेटर बर्नी सान्डर्सले अग्रता लिएका छन् । आयोवामा अग्रस्थानमा रहेका पिट् बुटजजले न्यू ह्याम्पसरमा दोस्रो स्थानमा छन् । यस्तै सिनेटर एमी क्लोबुसर सिनेटर एलिजाबेथ वारेनलाई पछि पार्दै तेस्रो स्थानमा आएकी छन् । वारेन भने प्रारम्भीक नतिजामा चौथो स्थानमा छिन् ।

यता पूर्व उपराष्ट्रपति जो बाइडेनलाई भने धक्का लागेको छ। उनी न्यू ह्याम्पसरमा पाँचौँ स्थानमा धकेलिएका छन् । आयोवामा प्राविधिक समस्याका कारण गएको हप्ता ककसको नतिजा आउन ढिलाइ भएको थियो । तर न्यू ह्याम्पसरमा भने सो समस्या देखिएको छैन ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का छ । तर डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ९ जना आकांक्षी छन् ।

म्मेदवार चयनका लागि हुने प्राइमरी मतदान आउँदो जुनसम्म जारी रहन्छ । न्यू ह्याम्पसर ककसको प्रारम्भीक ३० प्रतिशत मतको नतिजा आउँदा सिनेटर सान्डर्स २७ प्रतिशत मतसहित शीर्ष स्थानमा छन् । यस्तै इन्डियाना राज्यको साउथ बेण्डका पूर्व मेयर बुटजजले २३ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेका छन् ।

सिनेटर एमी क्लोबुसर २० प्रतिशत मतसहित बुटजजलाई टक्कर दिइरहेकी छन् भने उनी १० प्रतिशत मत पाएकी सिनेटर एलिजाबेथ वारेन भन्दा अघि छन् । पाँचौँ स्थानमा रहेका पूर्व उपराष्ट्रपति बाइडेनले अहिलेसम्म मात्रै ८ प्रतिशत मत पाएका छन् ।